काठमाडौं, चैत १ : शुक्रबार हुन लागेको उपराष्ट्रपतिको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन अधिकृतको कार्यालयका प्रमुख महेश शर्मा पौड्यालले मतदान केन्द्र निर्माण, मतपत्र तयार गर्नेलगायतका सम्पूर्ण तयारी पूरा भएको रातोपाटीलाई जानकारी दिनुभयो ।
संसद भवनको लोत्से हलमा मतदानका लागि दुईवटा मतपेटिका तयार पारिएको छ ।
पौड्यालका अनुसार भोलि बिहान १० बजेदेखि मतदान सुरु भई दिउँसो ३ बजे समाप्त हुनेछ भने बेलुकी ४ बजे मतगणना सुरु भई साँझ ७ बजेसम्म मतपरिणाम आउनेछ ।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता पार्टीबाट ममता झा र जनता समाजवादी पार्टीबाट रामसहयाप्रसाद यादव र प्रमिलाकुमारी यादव गरी चार जना उम्मेदवार छन् ।
तर, प्रमिलाकुमारी यादवले भने रामसहयाप्रसाद यादवलाई समर्थन गर्दै प्रेस विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन् ।
हुन लागेको निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० जना मतदाता हुनेछन् । एउटा मतदान केन्द्रमा ७ जनासम्म कर्मचारी खटाइनेछ ।